कुरिनटार : राष्ट्रिय वृक्षारोपण दिवस २०८१ तथा मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा इच्छाकामना गाउँपालिकाद्धारा बृक्षारोपण तथा चिउरीको विरुवा रोपेर मनाइएको छ । इच्छाकामना गाउँपालिकाको प्रदेशद्वार अगाडी  एक कार्यक्रमकाबिच बिरुवा रोपेर  मनाइएको हो ।
इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले इच्छाकामना गाउँपालिकाद्धारा राष्ट्रिय बृक्षारोपण दिवस २०८१ मनाउने क्रममा चिउरी चेपाङ चमेरो अर्थात चेपाङ समुदायको उत्थानको लागि चिउरी संरक्षण कार्यक्रम अन्तर्गत रहेर चिउरीको बोटहरु बृक्षारोपण कार्यक्रम संचालन गरिएको बताउनुभयो।  गाउँपालिकाकै प्राङ्गण बाहिर बृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गरिएको थियोे ।
यसैबिच कालिखोलामा चिउरीको सम्भावित क्षेत्र चेपाङ समुदायको राम्रो बसोबास भएको ठाउँ पहिचान गरेर चिउरीको बोटहरु अहिलेको लागि समुदायमा हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । यस अघि चिउरी चेपाङ संरक्षण कार्यक्रम अन्तर्गत इच्छाकामना गाउँपालिका वडा न. १ ,२ र ६ मा ६ को विभिन्न ६ वटा स्थानहरुमा चिउरी र चमेरोको संरक्षणको लागि गर्नुपर्ने पहल र पैरवीका  विषयमा जनचेतना अभिवृद्धी गराउने खालका सचेतना मुलक कार्यक्रमहरु संचालन गरिसकेको र चेपाङ समुदायबाट चिउरीको विरुवा थप  माग गरेकाले  थप विरुवा वितरण गरिएको  बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले चेपाङ चिउरी चमेरो संरक्षण अन्तर्गत विश्व बृक्षारोपण दिवस र नेपालीहरुको लोकप्रिय नेता मदन भण्डारीको जन्मदिन आज परेको हुदाँ यो दिवस मनाउन कालिखोला क्षेत्र विशेष गरि चेपाङ समुदायको बसोबास भएको हुनाले करिब ५०० चिउरीका बोट रोप्ने निर्णय गरिएको बताउनुभयो ।कालिखोलाको बिद्यालय क्षेत्रमा आफ्नो बारी छेउछाउ रोप्न चेपाङ चिउरी चमेरो संरक्षण गर्नको लागि सञ्चालन गरिएको कार्यक्रममा चेपाङ समुदायको सक्रिय सहभागिता रहेको उहाँले बताउनुभयो ।
यो कार्यक्रम निरन्तर असार मसान्तसम्म चल्ने र विभिन्न किसिमको फलफुलको बिरुवा रोप्ने कार्यक्रम गर्न अझै बाँकी रहेको उहाँले बताउनुभयो। यस कार्यक्रमले चेपाङ समुदायको लागि आयाअर्जनमा थप टेवा पुग्ने बिश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, प्रमुख प्रशासकिय अधिकृत  चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति  रहनुभएको थियो ।