सुमन सुवेदी

भरतपुर  :  चितवनको इच्छाकमना गाउँपालिका ३ चुम्लिङटारमा रहेको एभरेष्ट होटल एण्ड क्याफेले लापर्बाही दोहोर्‍याएको छ । यसअघि पनि ग्राहकलाई दुर्गन्धित खाना खुवाएर कारबाहीमा परेको यस होटलमा मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा अनुगमन गरिएको थियो । पृथ्वी राजमार्गको छेउमै रहेको यस होटलले लापर्बाहीलाई निरन्तरता दिएको भेटिएको हो ।

दोस्रोपटकको अनुगमनमा पनि होटलको किचन सन्तोषजनक नभेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले तेस्रोपटक अनुगमन आउँदा पनि लापर्बाही गरेको भेटिए खाद्य ऐनअनुसार मुद्दा चलाउने चेतावनी दिए ।

‘ अनुगमनका क्रममा झिँगा भन्किएका मासु, तरकारीलगायतका खाद्यान्न नष्ट गरिएको छ भने होटल सुधार्ने जिम्मा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष एवम् गाउँपालिकाको अनुगमन समिति संयोजक माया सिलवाललाई दिइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सिलवालले पटकपटक लापर्बाही गर्नेलाई संरक्षण गर्न नसकिने बताइन् । होटलको किचन सरसफाइ गर्न एक हप्ताको समय दिइने भन्दै उनले युवाले स्वदेशमै बसेर व्यवसाय गरेकाले फोहोर व्यवस्थापन र गुणस्तरीय खानेकुरामा पनि ध्यान दिन आग्रह गरिन् ।

वडा कार्यालयबाट फर्जी प्रमाणपत्र

यसैबिच इच्छाकामना गाउँपालिकाको वडा नं–४ को कार्यालयले फर्जी प्रमाणपत्र जारी गरेको भेटिएको छ । इच्छाकामना–४, कुरिनटारको तनहुँ होटल एण्ड खाजा घरलाई वडा कार्यालयले फर्जी प्रमाणपत्र दिएको हो । प्रमाणपत्रमा वडा सचिवको हस्ताक्षर छैन भने कर तिरेको रसिद पनि आफूले नपाएको व्यवसायी सविना गुरूङले बताइन् । व्यवसाय प्रमाणपत्र जारी गर्दा कर्मचारीले भ्रष्टाचार गरेको आशङ्का गरिएको छ ।

‘व्यवसाय दर्ता गर्दा वडाको सरलाई सात हजार दिएँ, तर मलाई रसिद नै दिनुभएन’, उनले भनिन् । ग्राहककै अनभिज्ञताका कारण प्रमाणपत्रमा हस्ताक्षर छुटेको हुन सक्ने गाउँपालिका उपाध्यक्ष सिलवालले बताइन् । दुई हजार लाग्ने करमा सेवाग्राहीले सात हजार रूपैयाँ तिरेको बताएको भन्दै उनले वडामा यसबारे थप कुरा बुझ्ने बताइन् ।