चितवन :   भरतपुर महानगरपालिका वडा नम्बर १०ले भरतपुर अस्पताललाई पुरानो मेडिकल कलेज सहित विभिन्न व्यक्ति तथा संस्थाबाट भाडा बुझेको विवरण मागेको छ । वडाध्यक्ष परमेश्वर खनालले आइतबार भरतपुर अस्पतालका अध्यक्षलाई पत्र लेख्दै करार सम्झौता अनुसार भाडा रकमको विवरण तीन दिनभित्र उपलब्ध गराउन माग गरेका छन् ।

‘कलेज अफ मेडिकल साइन्स समेत विभिन्न व्यक्ति तथा संस्थासंग व्यवसायिक प्रयोजनको लागि गरेको भाडा एवं करार सम्झौता पत्र हालसम्म बुझेको भाडा रकमको विवरण सम्बन्धी उपलब्ध सम्पूर्ण विवरणहरु पत्र प्राप्त भएको मितिले तीन दिनभित्र कार्यालयमा पेश गर्नुहुन अनुरोध छ,’–पत्रमा भनिएको छ ।

पुरानो मेडिकल कलेजले भरतपुर अस्पताललाई दिन करोडौँ रुपैयाँ बाँकी हुँदा समेत दिएको छैन । सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेजले झण्डै साढे चार करोड रकम तिर्न बाँकी छ । भरतपुर अस्पतालका सह लेखापाल हरि लामिछानेका अनुसार मेडिकल कलेजले दुईबर्षदेखि भाडा तिरेको छैन । असार मसान्तसम्म कलेजले बेरुजु रकम सहित ४ करोड ३१ लाख ५६ हजार १ सय ५५ रुपैंया तिर्न बाँकी छ । कलेजले बेरुजु रकम बाहेक असार मसान्त सम्मको १ करोड ११ लाख ५६ हजार १ सय ५५ रुपैंया भुक्तानी गर्न बाँकी रहेको लामिछानेले जानकारी दिए ।