तामिन : चितवनको इच्छाकामना गाउँपालिका वडा न ५ तामिनमा सुन्तला जात फलफुल प्रवर्धन कार्यक्रम सुरु भएको छ । कृषि ज्ञान केन्द्र चितवन र श्री तामिन कृषि सहकारी संस्थाको साझेदारीमा सुन्तला प्रवद्र्धन कार्यक्रम सुरु भएको हो ।
वडाध्यक्ष तेज बहादुर शेरचनले विरुवा रोपी सुन्तला प्रवर्धन कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।कार्यक्रम अन्तरगत उन्नत जातको पाँच हजार एक सय वटा सुन्तलाको विरुवा किसानलाई वितरण गरिने छ ।
१४ लाख ९४ हजारको लागतमा सञ्चालन हुने कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत र किसानकोे ५० प्रतिशत लगानी रहने छ ।
उक्त रकम मार्फत सुन्तलाको विरुवा सहित सुन्तला खेतीका लागि आवश्यक पर्ने औजारहरु पनि वितरण गरिने छ।
सुन्तला उत्पादनमा बृद्धि गरि कृषकहरुलाई आत्मनिर्भर बनाउन सुन्तला प्रवद्र्धन कार्यक्रम संचालन गरिएको श्री कृषि सहकारी संस्था लि।तामिनका उपाध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो ।
सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको तामिनमा पछिल्लो केही बर्षयता निरन्तर सुन्तला उत्पादनमा ह्रास आएको छ । बार्षिक २ करोड रुपैयाँ भन्दा बढी सम्म सुन्तला उत्पादन गर्दे आएको तामिनमा हरेक बर्ष घट्दै यस बर्ष ३० लाख रुपैयाँको मात्र सुन्तला उत्पादन भएको सहकारीका उपाध्यक्ष बोहोराले बताउनुभयो। उन्नत प्रजातीको सुन्तलाले उत्पादन बृद्धि हुनेमा किसानहरु आशावादी छन् ।