हीरालाल गुरु
मुग्लिन : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको सडक केहीबेर अघि पहिरो पञ्छाई सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अस्ति बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरको मेसिन प्रयोग गरि पहिरो पञ्छाइएको हो । पहिरो झरि सडक अबरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटर सहितको मेशिन तैनाथ रहेको सडक डिजिन कार्यालय भरतपुरले जनाएको छ ।
माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारी साधन सावधानीका साथ चलाउन र बाटोको अवस्था हेरि सुरक्षित यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
इच्छाखबर संवाददाता












