कुरिनटार, ८ असार । चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले १३ औँ गाउँसभामा सार्वजनिक गर्नुभएको इच्छाकामनाको बजेट ६७ करोड ७ लाख ७० हजार ८ ४६ रुपैयाँ ३ पैसा रहेको छ ।
जस मध्ये संघिय सरकारबाट रु. ४७ करोड ४९ लाख ४५ हजार ९००, प्रदेश सरकारबाट रु ८ करोड १३ लाख ६ हजार ८८७ रुपैयाँ ३३ पैसा हेको छ । आन्तरिक आय तर्फ भने रु १० करोड ५६ लाख १८ हजार ५८ रुपैयाँ ७० पैसा आय हुने अनुमान गरिएको छ ।
व्यय तर्फ चालु खर्चको लागि रु ३८ करोड ५३ लाख ७० हजार र पूँजिगत खर्चको लागि रु २८ करोड ६५ लाख अनुमान गरिएको छ । सो मध्ये संघ एंव प्रदेश सरकारको हस्तान्तरित अनुदान फिर्ताका लागि रु २ करोड ९८ लाख ३८ हजारका साथै आर्थिक बर्ष २०७९/८०को भुक्तानी बाँकीको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ । नेपाल सरकार तथा प्रदेश सरकारबाट समेत सशर्त अनुदान तर्फका कार्यक्रमहरु चालु खर्च शिर्षकमा हस्तान्तरण भई आएकोले चालु खर्चको हिस्सा ५७.३६ प्रतिशतका साथै पूजिंगत खर्चको हिस्सा ४२.६४ प्रतिशत हुने अनुमान गरिएको छ ।
आर्थिक विकास तर्फ रु २ करोड ८ लाख ७५ हजार, सामाजिक विकास तर्फ रु २९ करोड ९ लाख १३ हजार, पूर्वाधार विकास तर्फ रु. २२ करोड ४३ लाख ४१ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ रु. २ करोड १२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ११ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट १३ औँ गाउँसभाबाट सर्वसम्मत पारित भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उपाध्यक्ष माया सिलवालले प्रश्तुत गर्नुभएको बजेटमाथि गाउँसभाका ८ जना सदस्यहरुले बजेट बारे आफ्नो धारणा राख्नुभएको थियो । बजेटमाथिको छलफलपश्चात गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले बजेट सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो ।
इच्छाखबर संवाददाता












