चरौदीँ : धादिङको बेनिघाट रोराङ ७ स्थित चरौँदीमा रहेको पोषण सुधार केन्द्रमा रहेका बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । गत जेठ २२ उद्घाटन गरिएको पोषण सुधार केन्द्रमा भर्ना भई सेवा लिइरहेको बालबालिकाहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले बताउनुभयो ।
उहाँका अनुसार न्यून पोषणको रोकथाम, स्तनपानलाई सघाउने, शिशुलाई अतिरिक्त खाना एवं सूक्ष्म पोषण उपलब्ध गराउने काम पोषण केन्द्रबाट भइरहेको छ ।उक्त पोषण केन्द्रमा १८ जना कुपोषित बालबालिकाहरु भर्ना भएको पोषण सुधार शाखाका प्रमुख रविन थपलियाले बताउनुभयो । उक्त पोषण सुधार केन्द्रमा हाल १५ जना बालबालिका र १३ जना आमा रहेका छन् । पोषण सुधार केन्द्रमा भर्ना भएका जटिलता देखिएका केहीलाई थप उपचारको लागि कान्ति बाल अस्पताल रिफर गरिएको छ। बच्चाको पोषण सुधारका लागि तयारी पोषणयुक्त खाना खुवाउनुका साथै आमाहरुलाई नुहाई, धुवाई, नङ काट्ने, घरआँगन सरसफाई गर्ने, करेसावारी, भान्छाको सरसफाइ गर्न सिकाउने र पोषण शिक्षाको ज्ञान पनि दिइने थपलियाले बताउनुभयो ।
बेनीघाट–रोराङ गाउँपालिकामा पाँच वर्षमुनिका दुई हजार आठ सय बालबालिका छन् । तीमध्ये करिब ५० जना अति कुपोषित, ७५ जना मध्यम कुपोषित र दुई सय ५० जना सामान्य कुपोषित रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीले बताउनुभयो । चेपाङ सुमदायको ३८ प्रतिशत बसोबास रहेको यहाँ अशिक्षा गरिबी र चेतना कमीका कारण बालबालिकामा कुपोषण हुने गरेको स्वास्थ्य शाखा प्रमुख दुवाडीको भनाई छ ।
उहाँले भन्नुभयो,“यस गाउँपालिकामा जनसंख्याको ३८ प्रतिशत चेपाङ समुदायको संख्या छ । यस समुदायमा गरिबी, अशिक्षा, सचेतनामा कमी रहेको छ ,यी कारणले गर्दा बहुविवाह, बालविवाह गर्नेको संख्या धेरै छ र जन्मान्तरलाई ध्यान दिदैनन्,बालवालिकाको संख्या धेरै हुन्छ, पोषणयुक्त खाना खुवाउन सक्दैनन् ।”
बालवालिकामा कुपोषण अन्त्य अर्थात शुन्यमा झार्न पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले बताउनुभयो ।
देशभरका ७ सय ५३ स्थानिय तह मध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पहिलो पटक पालिका स्तरीय पोषण सुधार केन्द्रको स्थापना गरिएको हो ।
इच्छाखबर संवाददाता












