इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकामा किर्ते काण्डमा मुछिएका तीनै जना कर्मचारीहरुले अपराध स्वीकार गरेका छन् । आज गाउँपालिकामा पीडित कर्मचारी र जनप्रतिनिधहरुसंग उनिहरुले आफ्नो अपराध स्वीकार गरेका हुन्। एक कार्यक्रमको शीर्षकमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल,योजना शाखाका प्रमुख सविता अर्याल र लेखा प्रमुख पवन खरेलले सात जना कर्मचारीको किर्ते दस्तखत गरि रकम हिनामिन गरेका थिए ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पनि ती कर्मचारीहरुले रकम हिनामिना गरेको स्वीकार गरेको बताउनुभयो । तत्कालिन लेखा प्रमुख रहेका लेखाका कर्मचारी पवन खरेललाई गाउँपालिकाले कार्यालयको नियमित काममा रोक लगाइएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सालिकराम बस्याल र योजना प्रमुख सविता अर्याल भने सरुवा भइसेका छन् । कानुनी कारबाहीका लागि गाउँपालिकाको तर्फबाट गर्न पर्ने सम्पूर्ण प्रकृयामा सहयोग हुने अध्यक्ष गुरुङको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले यस अनियमितताका बारेमा छानबिनका लागि सम्बन्धी माथिल्लो निकायमा पत्राचार गरिने बताउनुभयो ।
गाउँपालिकाद्वारा संचालित महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसंख्यकहरुको तथ्याङ्क संकलनका लगि खटिएका प्रत्येक कर्मचारीले खाजा खर्च र पारिश्रमिक वापत् रु. ११ हजार ५५० रकम लिएको उल्लेख छ । तर उक्त शिर्षकमा रकम नलिएको वडा नम्बर ३ का कार्यालय सहायक कर्मचारी कविता पोखरेलले बताउनुभयो ।पोखरेलले आफुले हस्ताक्षर नगरेको र रकम पनि नलिएको भन्दै गाउँपालिका कार्यालयमा छानबिन गरि दोषि उपर कारबाही गर्न निवेदन दिनुभएको थियो ।  २०७८ चैत १२ गतेदेखि २०७९ बैशाख १गते सम्म इच्छाकामना गाउँपालिकाद्वारा संचालित महिला,बालबालिका तथा अपाङ्गगता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसंख्याकहरुको तथ्याङ्क संकलनका लागि खटिएका सहायक वडाका कार्यालय सहायक सचिवहरुलाई छुट्याइएको खाजा खर्च र दैनिक पारिश्रमिक भत्ता उच्च तहका कर्मचारीले किर्ते हस्ताक्षर गरि आफै बुझेको र सम्बन्धित कर्मचारीलाई उपलब्ध नगराए का हुन् ।