गण्डकी, ११ फागुन । गोरखाको गण्डकी गाउँपालिका जिल्लाकै पहिलो डिजिटल अनलाइन माध्यम मार्फत कर र राजश्व भुक्तानी गर्न सकिने स्थानिय तह बनेको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले डिजिटल अनलाइन माध्यम मार्फत नै भुक्तानी गर्न सकिने गण्डकी गाउँपालिकामै पहिलो पटक सुरु भएको बताउनुभएको हो ।गोरखाका अन्य पालिकाले यो प्रविधिबाट कर तिर्ने सुरुवात गरेका छैनन् ।
साथै गाउँपालिकामा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु भएको छ । आज गण्डकी गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमकाबिच गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले शिविरको उद्घाटन गर्नुभएको हो ।
सबैलाई करको दायरामा ल्याउन आजदेखि व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले बताउनुभयो । गाउँपालिकामा कुन व्यवसाय कस्तो अवस्थामा कती छ भन्ने एकिन विवरण संकलनका लागि पनि यो अभियान सुरु गरिएको उहाँले बताउनुभयो । सबै विवरण आएपछि आगामी दिनमा कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय छनौट गर्न सहज हुने बताउनुभयो । शिविरमा ५० प्रतिशत छुटमा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण गरिने उहाँले बताउनुभयो ।
शिविर फागुन २९ गते सम्म सञ्चालन भएपनि यस आर्थिक बर्षको असार मसान्त सम्म दर्ता हुने व्यावसायहरुलाई ५० प्रतिशत छुट दिइने बताउनुभयो । २९ गते सम्म सबै वडामा विभिन्न मितिमा शिविर सञ्चालन हुने र शिविरमा दर्ता नभएकाहरुले असार मसान्त सम्म गाँउपालिका कार्यालयमै आएर दर्ता गर्नुपर्ने बताउनुभयो । व्यवसाय दर्तामा असार मसान्तपछि सय प्रतिशत जरिवाना लाग्ने उहाँको भनाई छ ।
गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता सिताराम विश्वकर्माले गाउँपालिकाको विकास र समृद्धिका लागि सबैलाई करको दायारामा ल्याउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।आन्तरिक श्रोत बृद्धि गर्न सके गाउँपालिकाको विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।
कार्यक्रममा जनप्रतिनिधिहरुले करको विषयमा जनतामा भ्रम पैदा भएको भन्दै कर र राजश्वको महत्वबारे शिक्षा दिनुपर्ने बताएका थिए । जनप्रतिनिधले खानका लागि कर उठाएको भन्ने गलत भ्रम चिर्न आवश्यक रहेको जनप्रतिनिधिहरुको भनाई छ ।
गाउँपालिका राजश्व शाखा प्रमुख सागर शर्मा पौडेलले अनलाइन मार्फत कर र राजश्व भुक्तानी गर्ने विधि बारे डेमोसहित जानकारी गराउनुभएको थियो ।साथै सव इन्जिनियर तोरण गुरुङले घर जग्गा अभिलेखिकरण कसरी गर्ने भन्ने बारे जानकारी गराउनुभयो ।
८ वटै वडामा सञ्चालन हुने शिविर २९ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश अन्तरगत सञ्चालित नवप्रवर्तन साझेदारी कोषको कार्यक्रम अन्तरगत प्रदेश सरकारबाट ७० र गाउँपालिकाबाट ३० प्रतिशत बजेट विनियोजन गरि कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रदेशबाट रु १ करोड ४० लाख र गाउँपालिकाबाट रु ६० लाख गरि २ करोड विनियोजन गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी पत्रकार लगायतको समेत सहभागि रहेका थिए । गोपी कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
इच्छाखबर संवाददाता












