काठमाडौँ  :  नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २– २ गोलले बराबरी खेलेको छ। ​चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए।

तर दोस्रो हाफमा भारतले २ गोल गर्दै खेलमा अग्रता लियो। गोल फर्काउन भरमग्दुर प्रयास गरे पनि नसकेको नेपाली टोलीले अन्तिम समयतिर पाएको पेनाल्टीलाई सावित्रा भण्डारी ‘साम्बा’ ले कुनै गल्ति नगरी गोल गरिन्। डि(बक्समा भारतीय खेलाडीको ह्यान्ड भएपछि नेपालले पेनाल्टी पाएको थियो।

यसपछि थपिएको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा पुर्‍याइन्।

साफ महिला च्याम्पियनसिपपछि नेपालले पहिलो पटक भारतसँग खेलेको हो। साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १–० ले पराजित गरेको थियो।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ।