चितवन : चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लवको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुन लागेको हो । आज दिउँसो भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लवले प्रतियोगिता बारे जानकारी दिएको थियो ।
प्रवेश शुल्क १ हजार रहेको प्रतियोगिता पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि ५०० रुपैयाँ, विद्यार्थीको लागि ४०० र महिलाको लागि ३०० रुपैयाँ प्रवेश शुल्क रहेको विज्ञप्तिमा उल्लेख छ । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा भाग लिन चाहनेले पुस १५ गते बिहान १० बजेभित्र आवेदन दिनसक्ने क्लबका अध्यक्ष प्रकाश त्रिपाठीले जानकारी दिए । प्रतियोगिताको पहिलो पुरस्कार १३ हजार, दोस्रो ९ हजार, तेस्रो ५ हजार, चौथो–पाचौं र छैठौंलाई हुनेले दुई–दुई हजार रुपैयाँ जित्ने छन् । यो राशी जिल्लामा हालसम्म भएका बुद्धिचाल प्रतियोगिताको सबैभन्दा ठुलो राशीको पुरस्कार हो।
यस्तै पहिलो हुने महिला खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिने छ । पहिलो हुने छात्रा र छात्र विद्यार्थीलाई पनि नगद दुई–दुई हजार पुरस्कार रहेको छ । इच्छाकामना कै पहिलो हुनेको लागि पनि दुई हजार पुरस्कार रहेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला चेस संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठले बुद्धिचाल खेल मात्र नभएर मस्तिष्कको कसरत समेत रहेको बताए । यस खेलले दिमागलाई तेज बनाउन मद्दत गर्ने उनको भनाइ थियो । यसमा भविष्य पनि राम्रो भएको उनले बताए ।
प्रतियोगितमा जिल्ला भरका ४५ देखि ५० जना प्रतियोगी सहभागी हुने आयोजकको अनुमान छ । यसको कुल बजेट एक लाख ९० हजार ३०० रुपैयाँ रहेको छ । प्रतियोगिताको प्रायोजक इच्छाकामना गाउँपालिका रहेको छ भने प्राविधिक सहयोग जिल्ला चेस संघ चितवनको रहेको छ ।
इच्छाखबर संवाददाता












