दान बहादुर गुरुङ
धादिङ, २१ भदौ । धादिङको बेनीघाट रोराङ तरकारी खेतीका लागि उर्बर भुमि हो । यहाँका कृषकहरु तरकारी खेतीमा निर्भर छन् ।
तर उत्पादन गरेका तरकारी बिक्री गर्न उचित बजार नहुँदा कृषकहरु समस्यामा परेका छन् बेनीघाट रोराङमा व्यापारीहरु नजादाँ चितवनको इच्छाकामना ३ फिस्लिङमा तरकारी ल्याएर बिक्री गर्नु पर्ने बाध्यता रहेको किसानहरु बताउँछन् ।
बेनीघाट रोराङ १० गोइराङकी सपना गुरुङले व्यपापारीहरु नजादाँ फिस्लिङ ल्याउनुपरेको बताउनुभयो । गुरुङले भन्नुभयो, ‘सहकारी भएपनि व्यपारीहरु नआउँदा राम्रोसँग चल्न सकेको छैन, राम्रो मुल्य पाउदैन, त्यसैले फिस्लिङ ल्याउनुपर्ने बाध्यता छ , बेनीघाट रोराङमै तरकारी बिक्री गर्न पाए सहज हुन्थ्यो, फिस्लिङमा बिहानै तरकारी ल्याउँछौ १२ बजे सम्म तरकारी बेच्न नै समय लाग्छ । ’

अर्का किसान श्याम चेपाङले पनि बेनीघाट रोराङमा रहेका तरकारी बजारहरुमा उचित मुल्य नपाउने भएकाले फिस्लिङ आउन बाध्य भएको बताउनुभयो । उहाँले फिस्लिङको जस्तै संकलन केन्द्र व्यवस्थापन गर्न गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियालाई आग्रह गर्नुभयो ।
बेनीघाट रोराङ गाउँपालिका अन्तरर्गत ताल्ती, गोइराङ, चरौँदी, कोस्राङ, जवाङ, स्यादुल, आदि ठाउँहरुबाट तरकारी बिक्री गर्न किसानहरु फिस्लिङ सम्म आउने गर्छन ।

फिस्लिङको तरकारी बजारमा बेनीघाट रोराङका किसानहरुसंग समस्या बुझ्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया‘विवेक’
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ ले बेनीघाट रोराङ गाउँपालिकाका किसानहरुलाई उत्पादन गरेको तरकारी बेच्न चितवन आउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभयो । आज चितवनको इच्छाकामना ३ फिस्लिङको तरकारी बजारको अवलोकन गर्दै अध्यक्ष विवेकले धादिङबाट तरकारी बिक्री गर्न आएका किसानहरुसँग उनिहरुको समस्या बारे बुझ्नुभएको थियो । सोही अवसरमा किसानहरुले फिस्लिङ सम्म आउन पर्दा तरकारीले उचित मूल्य पाएता पनि ढुवानी खर्च बढ्ने, समयमा घर फर्कन नपाइने लगायतका समस्याहरु भएको बताएका थिए ।
अध्यक्ष विवेकले बेनीघाट रोराङ स्थित मझिमटार र चरौँदीमा पनि व्यवस्थित तरकारी संकलन केन्द्र तयार गरि किसानहरुलाई यहाँ सम्मको तरकारी ल्याउनुपर्ने सास्तीबाट छिट्टै मुक्ति दिलाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
इच्छाखबर संवाददाता












