कुरिनटार, २० भदौ । मनसुनी न्यूनचापीय रेखा औसतभन्दा तल रहे पनि शुक्रबार बिहान काठमाण्डौ उपत्यकासहित मध्य र पश्चिमका केही ठाउँमा पानी परिरहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

यस्तै, भारतको ओडिशा र पश्चिम बंगाल आसपासमा न्यूनचापीय रेखा बनेकाले केही ठाउँमा सामान्य र केही ठाउँमा मध्यमदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । पानी पर्ने क्रम केहीबेरमा रोकिने र दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार राति पनि देशभर नै आशिंकदेखि सामान्य बद्ली हुने र चट्याङसहित पानी पर्ने सम्भावना छ । बिहीबार बेलुकादेखि बेलुकादेखि सोमबार बिहानसम्म काठमाण्डौ उपत्यकामा १३ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
शनिबारको मौसम पनि यस्तै रहने अनुमान गरिएको मौसमविद् पोख्रेलले बताउनुभयो । वर्षा भइरहेकाले पहाडमा पहिरो र नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।