झापा  : बिर्तामोड नगरपालिकाअन्तर्गत रहेको तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ। बिर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवनबाहिर सोमबार बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ। कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको हो। ‘भवन आसपासमा विस्फोट भएजस्तै ठूलो आवाज आएपछि तत्काल घटनास्थलतर्फ अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली पुगे’, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, ‘भवनबाहिर विस्फोट त भयो, तर आगलागी नहुँदा कार्यालयको आवश्यक कागजातसहित अन्य सामानहरूमा ठूलो क्षति भएन।