चितवन : केही प्राविधिक कमी कमजोरी र भौगोलिक जटिलताको कारण भन्दै नारायणगढ –मुग्लिन सडकलाई टाल्न थालिएको छ । राजधानी जोड्ने यस सडकखण्ड स्तरोन्नति गरिएको एक वर्षमै विभिन्न स्थानमा टाल्न थालिएको हो । सडकको आँपटारी–रामनगर खण्डको करिब ३ किलोमिटर क्षेत्रमा मात्रै ४ ठाउँमा टालिएको छ । आँपटारी र रामनगरको बीचतिर पर्ने कुनै ठाउँमा ८ मिटर नै एक लेन टालिएको छ भने कुनै ठाँउमा ५ मिटर र कुनै स्थानमा ४ मिटर टालिएको छ । एक ठाउँमा छेउछेउमा करिब ५ मिटरभन्दा बढी टालिएको छ ।
यस सडकमा यात्रा गर्ने यात्रुहरु फराकिलो नयाँ पिच यति चाँडै टालिनु दुःखद भएको बताउँछन् । नारायणगढ मुग्लिन सडक बिस्तार आयोजनाले भने भौगोलिक जटिलताका कारण यो अवस्था आएको बताएको छ । आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालले सडकको छेउमा अग्ला पर्खाल भएको स्थानमा सडक भासिने, ट्रयाक भासिने लगायतका समस्या देखिएको बताउनुभयो । उहाँले कुनै प्राविधिक कमजोरी नभई भौगोलिक जटिलता र ठुला पर्खाल बनाँउदा केही स्थानमा यो समस्या देखिएकाले सडक टाल्नु पर्ने अवस्था आएको बताउनुभएको छ ।