काठमाडौं : केही दिन अघि रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि कम हुँदै गएको मौसम आजदेखि फेरि अग्रसर हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी काठमाडौं क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहेपनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेका र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उहाँले बताउनुभयो ।
अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ । अचानक पानी पर्ने र रोकिने गर्दा पनि बाग्मती, विष्णुमति लगायतका नदीमा जलसतह बढ्ने–घट्ने प्रक्रिया चलिरहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।
साना नदीमा जति बेला पनि बाढी आउन सक्ने भएकाले स्थानीयवासीलाई जिउन्यानको ख्याल गरेर यात्रा गर्न मौसम विभागले सुझाव दिएको छ ।