मुग्लिन- इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ। आव २०७५/७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु एक हजार ५०० उपलब्ध गराउँदै आएकामा गाउँपालिकाले आव २०७६/७७ देखि भने रु ५०० वृद्धि गरेर मासिक रु दुई हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्।
सात वटा वडा रहेको यस गाउँपालिकाभित्र ३८ महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य संयोजक धनकुमार खड्काले जानकारी दिए। नेपालमा बाल मृत्यु र मातृ मृत्युदर रोक्न, प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतना दिँदै आएका छन्।
यसैबीच गाउँपालिकाको वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक धनकुमार खड्काले सरकारले तोकेको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा गरिएको जानकारी दिए। उनका अनुसार पूर्ण संस्थागत वडा घोषणा गर्न स्वास्थ्य संस्थामा ९५ प्रतिशतले सुत्केरी गराएको हुनुपर्नेछ।
आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये छ जनाले मात्र घरमै सुत्केरी गराएको र यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत भएको संयोजक खड्काले बताए। रासस