चितवन,३१ जेठ । ‘एकान्त ठाउँ, नहर, झाडी, खुला चौर जहाँतहीँ लागूऔषध सेवनकर्ता छन्’, भरतपुर २ की रीता केसीले भनिन्, ‘समस्या युवायुवती, बालबालिका र पाका भएका पुरूष, महिलामा पनि छन् ।’

प्रहरीका लागि यो नौलो गुनासो होइन, तर नियन्त्रण हुन नसक्दा समाजमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । कुनै पनि ठाउँमा घटना भएमा तत्काल प्रहरीलाई खबर गर्दा पनि घन्टौँपछिमात्रै पुग्नाले प्रहरीप्रतिको नागरिक विश्वास कम हुँदै गएको जनताको प्रतिक्रिया छ ।

भरतपुर २, क्षेत्रपुरमा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ क्रममा बोल्ने अधिकांश वक्ताहरुले समाजमा लागूऔषधको समस्या बढिरहेको बताएका छन् । यसले बढीजसो युवायुवतीमा समस्या पारेको स्थानीयको भनाइ छ ।

त्यस्तै, उनीहरुले आर्थिक लेनदेनको क्रममा लिइने मिटर व्याजका कारण कतिपयको घरवास उठेको बताएका छन् । ‘घरबार नै बिग्रने अवस्था देखिएको छ’, रिमाल थरकी एक महिलाले भनिन्, ‘समाजमा भित्रभित्रै भइरहेको अवैध आर्थिक गतिविधिमा प्रहरीले ध्यान दिनुप¥यो ।’

वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठले मिटर व्याजका कारण करोडौँ रूपैयाँ जोखिममा प¥यो भन्दै धाउने महिलाहरु बढिरहेको बताए । ‘ढुकुटी र मिटर व्याजले समाजमा अर्को ठूलो अपराध भित्रने अवस्था छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘आर्थिक कारोबार गर्दा कानुनी प्रक्रिया पु¥याई ढुक्क हुन अनुरोध छ ।’

मितेरी आमा समूह, क्षेत्रपुरकी अध्यक्ष रमा आचार्यले नागरिकको भरोसाको केन्द्र प्रहरी हो भन्ने आमविश्वास रहेकोले नागरिक विश्वासलाई कम हुन नदिन प्रहरी–नागरिक अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । समाजमा बढ्दो अपराध कम गर्न हरेक घरबाट चेतना फैलाउनु आवश्यक रहेको भन्दै अध्यक्ष आचार्यले भनिन्, ‘समाजमा आधुनिकतासँगै देखिएका नौला आपराधिक घटनाहरुप्रति सबैको चासो हुनु जरूरी छ ।’

सीधा सम्पर्क गर्नोस्  : एसपी मल्ल

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले समाजमा कुनै आपराधिक घटना हुन लागेमा वा भएमा तत्काल आफूलाई सीधा सम्पर्क गर्न आग्रह गरेका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले प्रहरीलाई सम्पर्क गर्दा ढिला गरी मात्र रेस्पोन्स हुने गरेको भन्दै गुनासो गरेपछि प्रतिउत्तरमा एसपी मल्लले भने, ‘मलाई सीधा फोन गर्नोस्, तत्काल एक्सन लिन तयार छु ।’

समाजमा हुने कतिपय आपराधिक घटना हुन नदिन नागरिकको पनि प्रहरीको जत्तिकै कर्तव्य हुने भन्दै उनले नागरिक सचेत भए चोरी, झैझगडाजस्ता आपराधिक घटनाहरु निकै कम हुने बताए ।

‘लागूऔषध जताततैको समस्या भएको छ’, उनले भने, ‘यसमा प्रहरीमात्र नभई स्वयम् अभिभावकहरुले पनि आफ्ना बाबुनानीको ख्याल गर्नु आवश्यक छ ।’ आफू भर्खरैमात्र जिल्लामा आएकाले धेरै कुरा बुझ्न बाँकी रहेको भन्दै उनले केही समयपछि आफ्नो कामको नतिजा देखिँदै जाने बताए ।

सामुदायिक सेवा केन्द्र, नारायणगढ र मितेरी आमा समूह, क्षेत्रपुरको संयोजनामा रामेश्वर पुस्तकालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको थियो । समुदाय–प्रहरी अभियानका कारण अपराधमुक्त समाज बनाउने राज्यको परिकल्पना एकदिन साकार हुने उनले बताए । आजको चितवनपोष्टमा दीपेन्द्र अधिकारीले समाचार लेख्नुभएको छ ।