चितवन, ३० जेठ । चितवनको भरतपुरमा मतपत्र च्यातिएको काण्डमा मुछिएका मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई चितवन अदालतले दोषी ठहर गरेको छ ।
चितवन जिल्ला अदालतले आज गरेको बहसले असार ५ गते कार्वाही फौसला गर्ने गरि दोषी ठहर गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणिले जानकारी दिए । स्थानीय तह निर्वाचनका बेलामा मतगणना भइरहँदा मतपत्र च्यातिएको घटना भएको थियो ।
जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर हुने आदेश गरेको श्रेस्तेदार गिरीले बताए ।
सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको उनले जानकारी दिए । सिवाकोटी र न्यौपाने निर्दोष रहेको आफ्नो जिकिर रहेको देवकोटाले बताए ।
मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्ष नाघेपछि बिहीबार उक्त मुद्दामा पहिलो पटक बहस भएको थियो । यसअघि २४ औं पटकसम्म पेसी तोके पनि सधैं स्थगित हुने गर्दथ्यो । शिवाकोटी र न्यौपानेविरुद्ध ७४ सालको जेठ १७ गते मुद्दा दायर भएको थियो । सामान्यतया मुद्दा दायर भएको दुई वर्षभित्रै फैसला आउने परिपाटी । तर, यो मुद्दामा त्यो समय पार भएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं। १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी २० वडा मात्रै रहन्थ्यो । त्यस्तो अवस्थामा मतपत्र च्यातिएको थियो ।
मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो । त्यसैले चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचन परिणाम कुनै असर पर्दैन । यो मतपत्र च्यातेको अपराध विरुद्धको मुद्दा मात्र हो ।