चितवन, २६ बैशाख । देशकै केन्द्र भाग चितवनमा रहेको कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै ‘साँघुरो’ भएको छ । क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी राख्दै आएको कारागार कार्यालय स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको छ ।
कारागार कार्यालय चितवनका प्रमुख जेलर कमलप्रसाद काफ्लेका अनुसार कम्तीमा पनि एक हजार कैदीबन्दी क्षमता भएको कारागार निर्माणका लागि जग्गाको खोजी भइरहेको छ । ‘भरतपुरमा रहेको कारागार कार्यालय साँघुरो भएको छ’ काफ्लेले भने, –‘अन्यत्र जिल्लाबाट समेत कैदीबन्दी ल्याउने कारण यहाँ क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताको अन्त्यका लागि जग्गाको खोजी भइरहेको छ ।’ भरतपुरमा नै जग्गा हुनुपर्छ भन्ने नभइ कुनै पनि ठाउँमा तीन बिघाहा जति जग्गा प्राप्त गर्न सकेको खण्डमा कारागार कार्यालय नयाँ ठाउँमा सार्ने काफ्लेले बताए ।
‘प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले हाम्रो कारागार कार्यालय हेर्नुभएको थियो, मैले कारागार साँघुरो भएको कुरा जानकारी गराएको थिएँ’ काफ्लेले भने, –‘कारागार कार्यालय सार्नका लागि मन्त्रीज्यू सकारात्मक देखिनुभएको छ, नयाँ ठाउँमा जग्गा खोजेर खबर गर्न भन्नुभएको छ ।’ नमस्ते बिहानी साप्ताहिकमा खबर छ । तीन बिघाहा जति जग्गा पाएको खण्डमा प्रदेश नम्बर ३ को कानुन मन्त्रालयले रकम उपलब्ध गराउने भएकाले चितवनका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जग्गा खोज्ने काम भइरहेको काफ्लेले बताए ।
दुई सय ५५ जना क्षमताको कारागार कार्यालय चितवनमा अहिले सात सय भन्दा बढी कैदीबन्दीहरु राखिएको छ । सो कारागारमा अहिले सात सय १३ जना कैदीबन्दी तथा ६ जना बालबालिका राखिएको जेलर काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार कारागार कार्यालय चितवनमा ५३ जना महिला कैदीबन्दी तथा ६ सय ६० जना पुरुष कैदीबन्दी रहेका छन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
चितवनमा रहेको कारागारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ । पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपनि कारागार नहुँदा त्यहाँ फैसला भएका कैदीबन्दी तथा मकवानपुरमा महिला बन्दी गृह नहुँदा त्यहाँका महिला कैदीबन्दीहरुलाई चितवनमा ल्याउने गरिएको छ । अन्यत्र जिल्लाबाट कैदीबन्दीहरु चितवनमा ल्याउने कारणले पनि यहाँ कैदीबन्दीहरुको चाप बढेको जेलर काफ्लेले बताए ।
विसं. २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट चितवनमा एक सय ५३ जना कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दीहरु पठाउने गरिएको काफ्लेले बताए । लागु औषध, मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दामा सजायँ पाएका अधिकांश कैदीबन्दीहरु जिल्ला कारागारमा राखिएको छ नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
यस कारागार कार्यालयमा कैदीबन्दीको चाप अत्यधिक हुँदा त्यहाँबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको कारागारका सूचना अधिकारी रामबाबु श्रेष्ठले बताए । भरतपुर बजारको बीच भागमा रहेको कारागार कार्यालयबाट निस्कने फोहोरको व्यवस्थापन नहुँदा समस्या परेको श्रेष्ठको भनाइ छ नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
कारागारबाट निस्कने फोहोरहरु नारायणी लिफ्टको नहरमा लगेर फाल्ने गरिएकोमा नहर पुरेर बाटो निर्माण गरेपछि फोहोरको समस्या देखिएको हो ।
कार्यालयले कारागारको परिसरमा खाल्डो खनेर फोहोर जम्मा गर्ने गरेको भएपनि सात सय भन्दा बढी कैदीबन्दी राखिएकाले फोहोरले दुर्गन्ध समेत फैलाएको श्रेष्ठको भनाइ छ । ढलको निकाश नहुँदा पोखरीमा जमेको फोहोरले दुर्गन्ध फैलाएकोले कति बेला रोगको सङ्क्रमण हुन्छ भन्ने चिन्ता रहने श्रेष्ठले बताए । अहिले कारागारबाट निस्कने फोहोरको व्यवस्थापनका लागि कुनै पनि वैकल्पिक उपाय नभएको श्रेष्ठको भनाइ छ नमस्ते बिहानी साप्ताहिकमा खबर छ
कारागार कार्यालयको पछाडि खाल्डो खनेर फोहोर थुपार्ने गरिएकाले त्यहाँबाट निस्कने दुर्गन्धका कारण आफूहरुलाई ‘ड्युटी’मा समेत समस्या परेको सुरक्षाकर्मीहरु बताउँछन् । जिल्ला कारागारको सुरक्षाका लागि नेपाल प्रहरीका सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।