आनन्द पोखरेल
चितवन, १७ बैशाख । पछिल्लो दुई महिनाको अवधिमा रेबिजका कारण चितवनमा ६ वटा पशुको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडी, भरतपुरको ठूलोगढी, जीतपुरमा गाई तथा गाईको बाच्छी मरेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।
रेबिज रोगको लक्षण देखिएपछि कोही नबाँच्ने विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले बताए । ‘रेबिजको लक्षण देखिएपछि सङ्क्रमण भएको जनावर तथा मान्छे कोही पनि बाँच्दैनन्’ श्रेष्ठले भने, –‘रेबिज विरुद्धको भ्याक्सिन बेलैमा लगाएर रेबिजबाट जोगिन सकिन्छ ।’ बढी मात्रामा कुकुरकै कारणले रेविज लाग्ने गरेको उल्लेख गर्दै श्रेष्ठले कुकुरको टोकाइबाट लाग्ने रेविजलाई ‘अर्बान रेबिज’ तथा जंगली जनावरको टोकाइबाट लाग्ने रेबिजलाई ‘सिल्भाटिक रेबिज’ भनिने बताए ।
चितवनको मध्यवर्ती क्षेत्रमा जंगली जनावरका कारण रेबिज देखिने गरेको भएपनि त्यसबाहेकका क्षेत्रमा अर्बान रेबिज लाग्ने गरेको श्रेष्ठको भनाइ छ । घरपालुवा कुकुरलाई नियमित रुपमा रेबिजको भ्याक्सिन लगाउनुपर्ने उल्लेख गर्दै श्रेष्ठले अहिले प्राविधिकहरुले समेत रेबिज विरुद्धको भ्याक्सिन लगाउन थालेको बताए । रेबिज सङ्क्रमण भएको कुकुरले टोक्दैमा रेबिज लागिहाल्छ भन्ने पनि नभएकाले तुरुन्त उपचार गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
‘रेबिज जति खतरनाक छ, त्यति नै कमजोर त्यसको भाइरसहरु छन्, बाहिरी वातावरणमा रेबिजको भाइरस मर्छ’ श्रेष्ठले भने, –‘यदी रेबिज लागेको कुकुरले टोकेको अवस्थमा तुरुन्तै साबुन पानीले धोएर आधा घण्टा जति घाममा सेकाउने हो भनेपनि रेबिजको भाइरस निस्कृय हुन्छ ।’ स्नायु तन्तुबाट मात्रै रेबिजको भाइरस सर्ने भएकाले रेबिज लागेको जनावरले टाउको भन्दा पर टोकेको अवस्थामा तुरुन्त उपचार गरेर रेबिजबाट जोगिन सकिने श्रेष्ठले बताए । रेबिज लागेर मरेको शंका लागेमा विज्ञ केन्द्रले ती जनावरको टाउको काटेर केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाउने गरेको श्रेष्ठले जानकारी दिए ।
गाउँघरमा रेबिजका कारण घरपालुवा जनावर मरेको भएपनि कतिपय घटनाको रिपोर्ट नै नहुने गरेको श्रेष्ठको भनाइ छ । ‘रेबिजको सङ्क्रमणबाट घरपालुवा जनावरलाई जोगाउनका लागि वर्षको दुई पटक रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्छ’ श्रेष्ठले भने, –‘पशुहरुलाई वडाको सिफारिसमा स्थानीय तहले निशुल्क रुपमा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरेको छ ।’ मानिसले समेत स्वास्थ्य कार्यालयबाट रेबिज विरुद्धको भ्याक्सिन लगाउन पाउने श्रेष्ठले बताए ।