काठमाडौं,८ वैशाख । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता प्रक्रिया टुंगिएको छ। एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता टुंगोमा पुगेको र भोलि घोषणा हुने जानकारी दिए।
आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त जानकारी गराएका हुन्। ‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ। भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ। अध्यक्ष प्रचण्डले भने।
पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको प्रष्ट पारे। ‘अनुहार हेरेर होइन्, सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’, उनले भने। उनले तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागेपछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए।
जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए। आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंगो लगाउने उनको भनाई छ। नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दैछ। सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकता प्रक्रिया टुंगिएको घोषणा गरिने अध्यक्ष प्रचण्डले बताए।
आज साँझ बस्ने नेकपा सचिवालय बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाउनेछ। त्यसअघि दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पारेर सचिवालयमा पेश गर्ने सहमति भएको छ। आज विहान बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच छलफल भएको थियो। उक्त छलफलमा यो समझदारी बनेको अध्यक्ष प्रचण्डको भनाई छ।