काठमाडौं, २ बैसाख । आजदेखि औपचारिक रुपमा सरकारले विद्यार्थी भर्ना अभियान कार्यक्रमको शुरुवात गर्दैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले कार्यक्रम शुरुवात गरेको हो ।
मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र ९साविकको शिक्षा विभाग० का अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर रहेको विभिन्न तथ्याङ्कहरुले देखाएको छ । गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यस बर्ष ९१ हजार पुगेको हो ।
केन्द्रका प्रवक्ता दीपक शर्माका अनुसार पाँच बर्षदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्थीमध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए । बाँकी ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यो संख्यालाई आधार मानेर मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर भर्ना अभियान कार्यक्रम शुरु गरेको हो ।
यद्यपि यो नै आधिकारिक संख्या भने होइन । गएको वर्ष खोज पत्रकारिता केन्द्रको एउटा रिपोर्टले २ लाख बढी बालबालिका विद्यालय बाहिर रहेको देखाएको थियो । यो संख्याबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरोकारवालासँग छलफल समेत गरेका थिए ।
त्यसैले विद्यालय बाहिर रहने विद्यार्थीको संख्या यो भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । केन्द्रका प्रवक्ता शर्मा पनि यो कुरा स्वीकार्छन् ।
‘हामीले विद्यालयका प्रधानाध्यापकबाट गएको बर्ष संकलन गरेको तथ्यांकबाट यो विवरण तयार पारेका हौँ’, उनी भन्छन्, ‘तर यो नै आधिकारिक संख्या भने होइन । २०६८ को जनगणना अनुसार हामीले प्रक्षेपण गरेर निकालेको संख्या हो । केही तलमाथि भए पनि झण्डै एक लाख बालबालिका विद्यालय बाहिर रहेका हाम्रो अनुमान छ ।’