काठमाडौं,१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । आइतवार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् ।

उनले भने, ‘यस वर्षको बजेटमा वृद्धभत्ता बढ्छ । यो गोप्य राख्ने कुरै होइन । ‘वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीले जिकिर गरे । उनले भने ‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’ उनले भने वृद्धभत्ता बढ्दैछ ।’ कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सरकारले साकार पार्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् । आइतवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १०० वर्षीया जमुना गुरुङ सहित ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिएको हो । सो बीमाको प्रिमियम नेपाल सरकारले तिर्नेछ ।

यस्तै ‘सबै नागरिकलाई बैंक खाता’ कार्यक्रमको शुभारम्भ भने प्रधानमन्त्री ओलीले आफ्ना बुवा र राधिका शाक्यकी आमाको नाममा खाता खोलेर गरे । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

हालसम्म बैंक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो । सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैंकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।