काठमाण्डौ, २९ चैत । सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो ।
यो व्यवस्थाअनुसार बैंकहरुले सहज रुपमा बैंक खाता खोली खाता नभएकाहरुलाई बैंकिङ्ग सेवाको पहुँचमा पुर्याउनुपर्ने हुन्छ। खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गराउने छन् । यो अभियान वैशाखदेखि सुरु हुनेछ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था थप गरी राष्ट्र बैंकले बैंक खाता खोलौं अभियान सुरु गरेको हो । यसअघि कुनै पनि बैंकमा खाता नखोल्नेलाई मात्र यस्तो व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ ।
अहिले बैंक खाता खोल्दा ग्राहक पहिचान अन्तर्गत अपनाउनुपर्ने प्रकृयालाई सरलीकृत गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ। जस अनुसार सरकारी निकायबाट जारी भएको कुनै पनि किसिमको परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिन्छ।
अर्थात् बैंक खाता खोल्नेले नागरिकता वा राहदानी वा मतदाता परिचय पत्र वा सवारी चालक अनुमतिपत्र वा सम्बन्धित स्थानीय निकायले उपलब्ध गराएको फोटो सहितको सिफारिस लिएर बैंक जाँदा हुन्छ।
यसरी बैंक खाता खोल्दा अरु कुनै बैंकमा खाता नरहेको स्वघोषणा भने बुझाउनुपर्ने हुन्छ ।