काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
बिष्फोटमा घाइते सिंहप्रताप श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।
शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।
सुरक्षा गार्डको भूमिका शंकास्पद, केही पक्राउ
विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।