तूलमान गुरुङ
कुरिनटार,९ फागुन । नेपालमा आपराधिक गतिविधिको अनुसन्धानमा प्रयोग गर्दै आएको कुकुर (डग स्क्वाड) विपद् व्यवस्थापनका लागिसमेत प्रयोग गरिने भएको छ ।नेपालमा विपद्को जोखिम पनि उत्तिकै हुने भएकोले विपद्मा परेकाको उद्धार गर्नका लागि कुकुरको प्रयोग गर्ने गरी चितवनको कुरिनटारमा तालिम दिइएको छ ।
नेपालमा २०७२ सालको भूकम्पले समेत मह¤वपूर्ण पाठ सिकाएकोले त्यस्तो अवस्थामा मान्छेले गर्न नसक्ने काम कुकुरबाट गर्न सकिने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ । हाल पाँचवटा कुकुरलाई तालिम दिएर तयार पारिएको शिक्षालयका समादेशक एवम् सशस्त्र प्रहरी वरिष्ठ नायब उपरीक्षक ९एसएसपी० किशोर प्रधानले जानकारी दिए ।
नेपालमा विपद्का कारण धेरै मान्छेले अकालमै ज्यान गुमाउनु परेकोले मानवीय क्षति कम गराउनका लागि पनि कुकुरको प्रयोग फलदायी हुने उनको विश्वास छ ।‘नेपालमा बाढीपहिरो तथा भूकम्पको जोखिम उत्तिकै छ, त्यस्ता प्राकृतिक प्रकोपमा मान्छे कहाँ पुरिएको छ भनेर पत्ता लगाउन मान्छेलाई गाह्रो हुने र कुकुरले छोटो समयमै सुँघेर पत्ता लगाउन सक्ने भएकोले कुकुरलाई विपद् व्यवस्थापनको क्षेत्रमा प्रयोग गर्न लागिएको हो’, उनले भने, ‘कुकुरको प्रयोगबाट कतिपय पुरिएका मान्छेलाई पनि जीवितै उद्धार गर्न सकिन्छ, जुन मान्छेबाट कम सम्भावना रहन्छ ।’
पुरिएका शव निकाल्नसमेत कुकुरको प्रयोगबाट धेरै नै सहज हुने उनले बताए । उनका अनुसार यो प्रयोग नेपालमै नयाँ हो ।
देशभर रहेका ३७ हजार जना सशस्त्र प्रहरीले सबै ठाउँमा काम गर्न नभ्याउने हुँदा कुकुरको प्रयोगबाट केही सहज हुने उनको भनाइ छ । ‘हामीले आवश्यक पर्दा प्रहरी र सेना दुवैको काम गर्नुपर्छ’, उनले भने, ‘त्यसैले, देशभरको सशस्त्रको संख्या हेर्ने हो भने अत्यन्तै न्यून छ, यसका लागि पनि कुकुरको प्रयोग गर्नु आवश्यक छ ।’
बीबीसी लन्डनका वातावरण संवाददाता नवीनसिंह खड्काका अनुसार विश्वमै वातावरणीय असर बढ्दै गएकोले नेपालका लागि सशस्त्र प्रहरीको जिम्मेवारी पनि झनै बढ्दै गएको छ ।
‘विकासको नाममा नेपालका सबैजसो डाँडाकाँडामा डोजर लगाउँदा त्यसको असर कहाँ पुग्छ भन्ने पनि हेक्का राख्नु आवश्यक छ’, उनी भन्छन्, ‘किनकि, त्यसैको असरले बाढीपहिरोको समस्या निम्तिने र खोलानाला थुनिएर फुट्दा त्यसको असर मानवबस्तीमा पर्ने हुँदा सशस्त्र प्रहरीको जिम्मेवारी वातावरणले पनि बढाइदिएको छ ।’
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा बुधबार सशस्त्र प्रहरीमार्फत विपद्को बेला कसरी उद्धार गर्ने रु भन्ने विषयमा नमुनासमेत देखाइएको थियो । आगलागी र सवारी दुर्घटना हुँदा कसरी परिचालित हुने भन्ने विषयमा जानकारी गराइएको थियो । तर, विपद्को बेला सशस्त्र प्रहरीले मात्रै सबै काम गर्न नसक्ने हुँदा स्थानीयस्तरबाट पनि सहयोग हुनुपर्ने शिक्षालयका एसएसपी प्रधानले बताए । चितवनपोष्टबाट साभार