चितवन, फागुन ६ –

कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।

रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन सुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । जसमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उनले बताए ।

नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उनले बताए । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उनले बताए ।

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उनले बताए । सुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा (प्यारेन्ट) र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि सुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताए ।

बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बिमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले बताउनुभयो । उहाँले भने, “बर्डफ्लु हुँदा राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग रहँदैन ।’

उनका अनुसार विगत सात÷आठ वर्षयता एच नाइनका कारण बर्सेनि कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको उनले बताए ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षौदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा बर्सेनि अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताए । उनका अनुसार गैरकानुनी रुपमा लुकाइछिपाइ भित्रिएको खोपले केही कुखुरा बच्ने गरेको भए पनि अधिकांश कुखुरामा रोग देखिँदा समस्या भएको छ ।

नेपालका ठूला कुखुरापालक कृषकसमेत रहेका विष्टले भने, ‘हाम्रो मन्त्रालयको अर्कमण्यता र पशुसेवा विभागको बदमासीका कारण कृषकले हरेक वर्ष अर्बौको क्षति व्यहोर्नु परेको छ ।’ विष्टका अनुसार एच नाइन देखिएका कुखुराले उत्पादन नदिने तर दाना खाइरहने हुँदा कृषकले नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन घटेपछि बिक्री भएका सङ्क्रमित कुखुराका कारण रोग झनै फैलिने गरेको उनले बताए ।

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष टीकाराम पोखरेल सरकारले खोप भित्र्याउन अनुमति दिएमा यी समस्या हटेर जाने बताउँछन् । देशमा आत्मनिर्भर भएको पोल्ट्री व्यवसायमा वर्षौदेखि देखिएको यो रोगका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले बताए ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार गत वर्षभन्दा कम कुखुरा मरेको भए पनि उत्पादन निकै घटेको छ । जसका कारण कृषकले ठूलो क्षति व्यहोरेको उहाँले बताए । प्रयोगशालाका प्रमुख डा चापागार्इंका अनुसार नेपालकै रोग लागेका कुखुराहरुबाट खोप तयार गरेर दिन व्यवसायी तयार रहेको भन्दै सरकारले नीतिगत निर्णय गर्न मात्रै बाँकी रहेको बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा झण्डै रु एक खर्ब लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । रासस