कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरु बाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण नेपाली व्यवसायीहरुले दर्जनौ कुखुरा फर्म बन्द गरेका हुन ।नेपालका फर्महरुमा उत्पादन भएको कुखुराको मूल्य भारतीय कुखुरा भन्दा केही महंगो हुने गरेको छ । चल्ला खरीद, दानापानी, विद्युत्, ढुवानीमा लागत भारत भन्दा नेपालमा बढी लाग्ने गरेकोले मूल्यमा केही भिन्नता हुने गरेको कुखुरा व्यवसायीहरुको भनाई छ ।यसरी महंगो लागतमा उत्पादन गरेका कुखुराजन्य उत्पादनहरुले लागत अनुसारको मूल्य नपाउने नेपाली बजारमा प्रचलित मूल्यमा पनि बिक्रि नहुने भन्दै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको सम्बद्ध व्यवसायीहरुले गुनासो गरेका छन् । कुखुरा व्यावसाय सञ्चालन गर्दै आएका कञ्चनपुर पुनर्बास नगरपालिका १० का स्थानीय व्यवसायी वीरबहादुर तामाङले अवैध कारोबारीका कारण आफ्नो व्यवसाय नै धरासयी भएको बताए । उनी भन्छन ‘हामीले अवैध तरिकाले ल्याएको कुखुरा समाएर प्रहरी लाई बोलाउँदा समेत प्रहरी आएर छोडि दिन्छ । मैले भारत बाट आउने कुखुरा नियन्त्रण गर्न लिखित निवेदन दिए तर प्रहरीले आँखै अगाडि बाट कुखुरा लैजाँदा समेत नदेखे झैं गर्छ । यता प्रहरी चौकी पचकडियाका प्रहरी सहायक निरीक्षक मोहन सिंहले बिहेका लागि ल्याइएको कुखुरा मात्रै छाड्ने गरको बताए ।