इच्छाकामना,२९ माघ । इच्छाकामना गाउँपालिकाले कृषि र पशुपालनमा अनुदान दिने भएको छ । अनुदानको लागि गाउँपालिकाले सूचना प्रकाशनसमेत गरेको छ ।
गाउँपालिका प्रमुख गीताकुमारी गुरूङले पशुपालन, मौरीपालन, सुन्तला किसान, युवा किसानलाई अनुदान दिन लागेको बताइन् । उनले भनिन्, ‘सूचना निकालेर आवेदन माग गरेका छौँ, आवेदनको म्याद सकिएपछि छनोट प्रक्रिया सुरू गर्नेछौँ ।’
गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फर्मलाई अनुदानको लागि छनोट गर्ने प्रमुख गुरूङले जानकारी गराइन् । इच्छाकामना गाउँपालिकाले तीनभन्दा बढी दुहुना गाई वा भैँसी पाल्नेलाई अनुदान दिन लागेको छ ।
‘तीन वटा दुहुना गाई वा भैँसी पाल्ने ८ जना किसानलाई एक लाखको दरले अनुदान दिन लागेको छौँ’ गाउँपालिका प्रमुख गुरूङले भनिन्, ‘यसको लागि आवेदन माग भएको छ, मागपत्रको आधारमा किसान छनोट गरिन्छ ।’ उनले जुन क्षेत्रमा अनुदान दिएको हो, त्यस क्षेत्रमा रकम खर्च गर्ने मापदण्ड बनाएको बताइन् ।
यस्तै इच्छाकामना गाउँपालिकाले बाख्राको खोर निर्माणको लागि पनि अनुदान दिने भएको छ । गाउँपालिकाका अनुसार २० जना किसानले बाख्राको खोर निर्माणको लागि अनुदान पाउने भएका हुन् ।
गाउँपालिका प्रमुख गुरूङले खोर निर्माणको लागि ५० प्रतिशतसम्म अनुदान दिने बताइन् । गाउँपालिकाले यसै वर्ष पशु प्रजनन कार्यक्रमअन्तर्गत बयर जातको बोका वितरण गर्ने भएको छ । २५ जना किसानलाई उक्त बोका वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।
युवा उमेरका किसान जो कृषिमा लागेर नमुना कार्यक्रम चलाइरहेका छन्, त्यस्ता किसानलाई समेत गाउँपालिकाले अनुदान दिन लागेको छ । ‘युवा उमेरका आठ जना किसानलाई एकैदरले अनुदान दिन लागेका छौँ’ प्रमुख गुरूङले भनिन्, ‘यो गाउँपालिकाले यसैवर्षबाट सुरू गर्न लागेको हो ।’
युवापुस्ता धेरै विदेश जाने लहरलाई केही भए पनि रोक्न सहयोग पु¥याउने उद्देश्यले र युवालाई कृषिमा अगाडि बढाउन युवा कृषक कार्यक्रम ल्याएको गाउँपालिका प्रमुख गुरूङले जानकारी दिइन् ।
यसैगरी मौरीपालनलाई अगाडि बढाउन गाउँपालिकाले मौरीको घारसमेत वितरण गर्ने भएको छ । मौरीपालनको लागि ८८ जना किसानलाई आठवटाको दरले मौरीको घार वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यसको लागि पनि आवेदन माग गरिएको गाउँपालिकाको भनाइ छ ।
त्यस्तै सुन्तला पकेट क्षेत्रका किसानलाई पनि अनुदान दिने गाउँपालिका प्रमुख गुरूङले बताइन् । उनले भनिन्, ‘सुन्तला किसानलाई बीउबीजन, मल, रोगनाशक औषधिमा अनुदान दिनेछौँ ।’ अनुदान किसान, कृषि समूह, कृषि सहकारीहरुलाई उपलव्ध गराइने उनको भनाइ छ । आजको चितवनपोष्टमा किशोर खनालले खबर लेख्नुभएको छ ।