हीरालाल गुरुङ,
मुग्लिन , २५ माघ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट रु २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिनुभयो । भ्यूटावरसहितको गोलोघरबाट झरनाको अवलोकन गर्न सकिनेछ भने पर्यटकले आराम गर्नेछन् ।
झरनामा सरसफाइका काम नियमित भइरहेको वडा अध्यक्ष भूपेन्द्र चेपाङले बताउनुभयो । भौतिक पूर्वाधार पनि बनिरहेकाले यसले पूर्णता पाएपछि पर्यटकको सङ्ख्या वृद्धि हुने उहाँको भनाइ थियो । इच्छाकामनामा उक्त झरनासहित सिराइचुली, ऐतिहासिक उपर्दाङगढी, इच्छाकामना मन्दिरलगायत पर्यटकीयस्थल भएपनि भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यी ठाउँमा सोचेजति पर्यटक पुग्न सकेका थिएनन्
लामो झरनामा भने नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् । सडकबाट सो स्थानमा पैदल ३० मिनेटमा पुग्न सकिन्छ । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो रहेको भिरालोको झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ ।
यहाँ पर्यटक स्वतःस्फूर्तरुपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृष्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । अध्यक्ष गुरुङले पूर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपासका क्षेत्र व्यवस्थित बन्दै गएको बताउनुभयो ।
सो झरनामा अवलोकनका लागि दैनिक कम्तीमा १०० पर्यटक पुग्छन् । नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको उक्त क्षेत्र काठमाडौँ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउने एउटा गन्तव्य बनेको छ । झरनामाथि रहेको गुरुङ बस्ती याकराङ गाउँमा होमस्टे पनि सञ्चालन गरिएको छ । लामो झरना अवलोकनपछि गुरुङ समुदायको संस्कृति अवलोकन तथा (होमस्टे) घरबासमा बस्न पर्यटक जाने गर्दछन् । याकराङ गाउँमा पर्यटकलाई गुरुङ संस्कृत झल्किने नाचगानसहित स्वागत गरिन्छ ।
क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माण हुनुभन्दा पहिलेदेखि नै यहाँ पर्यटकले क्यानोनिङ गर्ने गरेका थिए । अहिले क्यानोनिङ एशोसिएसनमा आबद्ध विभिन्न सात ¥याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आबद्ध छन् । ती संस्थाले क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, जम्पिङ, स्लाइडिङ र हाइकिङ गर्न स्वदेशी तथा विदेशी पर्यटक ल्याउने गरेका छन् ।
यहाँ प्रवेश गर्न नेपाली पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि नेपालीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ । यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो । रासस