काठमाडौँ, २२ माघ । तामालाई सुन भनेर पत्रकार सम्मेलन गर्ने धादिङका एसपी डम्बरबहादुर विक त कारबाहीमा परेका छन् तर डिआईजीलाई भने उन्मुक्ति दिइएको छ । जबकि यो प्रकरणमा प्रमुख गल्ती डिआईजीको थियो ।
प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपककुमार थापालाई कारबाहीबाट उन्मुक्ति दिइएको छ । प्रदेश कार्यालयकै सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । डिआईजी थापाको घुमुवा बुद्धि चौधरीको टोलीले सो धातुलाई सुन भन्दै बराबद गरेर प्रचार गरेको थियो ।
पुस २० गते ४ किलो सुनसहित ३ जनालाई पक्राउ गर्न सफल भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका तत्कालिन प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूहरुको सहयोगमा प्रदेश ३ को प्रहरी इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको अवस्थामा सुनसहित मान्छे पक्राउ गरेको बताएका थिए ।
प्रहरीले बरामद गरेको भनिएको ४ किलो ‘सुन’ सहित पक्राउ गरेका तीनै जनालाई पत्रकार सम्मेलनपछि आवश्यक कारबाहीका लागि भन्दै राजस्व अनुसनधान विभाग काठमाडौँ ल्याइएको थियो । धादिङबाट काठमाडौँ ल्याइपुर्याउँदा साँझ परिसकेको थियो । साँझ परे पनि प्रहरीले सुन भनिएको वस्तु सहित तीनै जनालाई विभागमा लग्यो । प्रहरीले विजभागको टोलीलाई सुन भनिउको वस्तुसहित पक्राउ परेकालाई बुझाएर जान खोजेको थियो । तर विभागको टोलीले त्यो बुझ्न भन्दा पहिले सुन भनिएको वस्तु परिक्षण गर्यो ।
परीक्षणपछि प्रहरीले सुन भनेर बरामद गरेका सुन नक्कली भएको पुष्टि भयो । त्यसमा तामा र ढलोट थियो । विभागले प्रहरीलाई नै मान्छेसहित धातु फिर्ता पठायो । प्रहरी हिस्स बन्न पुग्यो । दृष्टि साप्ताहिकमा खबर छ ।