आँबुखैरेनी, १६ माघ । यही माघ १७ गते अर्थात भोलिबाट माघ २७ गते सम्म संचालन हुने आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ को सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषदको आयोजनामा आँबुखैरेनी–३, सैबोटेमा हुने महोत्सवको अन्तिम तयारी बारे आज पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका प्रवक्ता मिलन भूजेलले जानकारी दिनुभएको छ ।
महोत्सवको एक समारोहकाबीच भोलि दिउसो १ बजे गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । “अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मूल नाराका संचालन गर्न लागिएको महोत्सवमा यस क्षेत्रका ती समुदायहरुको भाषा, संस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पु¥याउने उद्देश्य तथा जनजाती समुदायको संग्रालय भवन निर्माणको लागि महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक रेशम भूजेलले बताउनुभएको छ । महोत्सवमा १ सय ४६ वटा स्टल रहने र १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, धार्मिक एवंम पर्यटकीय स्थलको अवलोकन, कौंरा प्रतियोगिता, रमाईलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता लगाएत महोत्सवको मुख्य आर्कषण रहेका छन् ।