इच्छाकामना,२१ पुस । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्ग क्षेत्र र मुख्य बजारमा निस्कने फोहर ब्यवस्थापन गर्न फोहर संकलन तथा ब्यवस्थापन केन्द्र स्थापना गरेको छ । फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको रूपमा विकास गर्ने उद्देश्यले इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा केन्द्र निर्माण गरेको हो । फोहर ब्यवस्थापन केन्द्र निर्माणको काम सकिएको र पुस महिना भित्रै संचालनमा आउने इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिनुभयो । “फोहर ब्यवस्थापन केन्द्र संचालन पश्चात त्रिशुली नदी र राजमार्ग आसपासको क्षेत्र प्रदुषित हुनबाट रोकिनेछ, अध्यक्ष गुरुङले भन्नुभयो’, सुन्दर गाँउपालिका निर्माणका लागी फोहर ब्यवस्थापनलाई बिशेष प्राथमिकतामा राखेका हौं ।”
रु १३ लाखको लागतमा फोहर ब्यवस्थापन केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । अहिलेपनि मुग्लिन,कुरिनटार लगायतका बजार क्षेत्र र राजमार्गमा निस्कने फोहर सिधै त्रिशुली नदीमा फाल्ने गरिएको छ ।
दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिएर केन्द्र निर्माण गरिएको हो । केन्द्रको निर्माण पश्चात ईच्छाकामना गाँउपालिकाको राजमार्ग क्षेत्र र मुग्लिन, कुरिनटार, लेवाटार, केवलकार, मौवाखोला, फिस्लिङ्ग, चुम्लिङ्गटार, कुरिनघाट लगायतका क्षेत्रबाट निस्कने फोहरहरु संकलन र व्यवस्थापन गर्दे कच्चा पदार्थका रुपमा बेचेर आम्दानी गर्ने गाँउपालिकाको योजना छ ।
गाँउपालिकाले फोहरलाई कुहिने, प्लाष्टिकजन्य र सिसाजन्य गरी तीन भागमा विभाजन गरी छुट्याउने तयारी गरेको इच्छाकामना गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताउनुभयो । डम्पिङ्ग पश्चात संकलित फोहरलाई थेग्रीगेसन गर्दै पुनः प्रयोग हुने फोहरलाई विभिन्न प्रशोधित उद्योगहरुमा कच्चा पदार्थको रुपमा बिक्री गरिने अधिकारीले बताउनुभयो । यो प्रविधि प्रयोग गरेका देशका विभिन्न नगरपालिका र गाँउपालिकाले फोहर व्यवस्थापनबाटै शहर सफा गर्नुका साथै राम्रो आम्दानी समेत गरिरहेका छन् ।रासस