मनकामना, १८ पुस । जिल्ला प्रशासन कार्यालय गोरखाले मनकामनामा बजार क्षेत्रमा अनुगमन गरेको छ । मंगलबार जिल्ला प्रशासनको टोलीले मनकामना बजारको १ सय २३ वटा विभिन्न पसलहरुको अनुगमन गरेको हो । सो क्षेत्रको ५२ होटल, १३ फोटो स्टुडियो, ४५ माला पसल र अन्य ठेकी, मादल तथा हस्तकलाको पसलको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका खरिदार रविलाल सुवेदीले जानकारी दिए । अनुगमनमा धेरैजसो पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाईएको उनले बताए । उनले भने ‘९० प्रतिशत माला पसलहरुको दर्ता नै नभएको पाईयो भने केहि होटलहरुमा सरसफाईमा ध्यान नदिएको समेत पाईयो’ । यस्तै बिना दर्ता सञ्चालन भएको पसलहरु यथासक्य छिटो दर्ता गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिईएको पनि उनले बताए । अनुगमनका क्रममा केहि सामाग्री म्याद गुज्रिएको पाईएकोले नष्ट गरिएको पनि उनले जानकारी दिए । यस्तै टोलीले मनकामना बजार क्षेत्रमा जडान गरिएको सिसी टिभी क्यामरा एक महिना भित्र जडान गर्न पनि निर्देशन दिएको छ । मनकामना बजारमा ग्राहक ठगिएको भनेर हेल्लो सरकारमा उजुरी परेपछि अनुगमन प्रशासनका प्रशासकिय अधिकृत डिल्लिप्रसाद श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनमा घरेलु तथा साना उद्योग विकास समितिका ऋषि अधिकारी, शहिद लखन गाउँपालिकाका प्रशासकिय अधिकृत जीवन आले, उद्योग वाणिज्य संघ मनकामना इकाइका अध्यक्ष राजनबाबु जोशी लगायतका सहभागीता रहेको थियो ।