काठमाडौं,११ पुस । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्।
गत मंसिर २९ गतेबाट सुरू बैठकमा सोही दिन अध्यक्षद्वयको तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
पुुस २ गतेदेखि भने सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राखेको थिए। वामदेव गौतम, भीम रावल लगायतका केही सदस्यले भने लिखित प्रतिवेदन नै पेस गरेका थिए।
पुस २ देखि ८ गतेसम्ममा भएको छलफलमा ४७ जना नेताले आफ्नो धारणा राखिसकेका छन्। ४५ सदस्यीय स्थायी समितिमा केही आमन्त्रित सदस्यले समेत धारणा राखेका थिए।
बैठकमा विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा आलोचना भएको थियो।
बहुमत सदस्यले अध्यक्षद्वयको प्रतिवेदनमा सकारात्मक धारणा राखेको तथा केही लिखित प्रस्तावसमेत आएकोले सो प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै बैठक समापन हुने सम्भावना छ।