चितवन, ८ पुष ।  भरतपुर महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूका लागि आचारसंहिता बनाइएको छ । आचारसंहिता शनिबारको कार्यपालिका बैठकमा पेस भएको छ । कार्यपालिकाले अनुमोदन गरेपछि १० पुसमा बस्ने तेस्रो नगरसभाबाट पारित हुने महानगरका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले बताए ।

आचारसंहितामा कुनै पनि जनप्रतिनिधि र तिनको परिवारका सदस्यले ठेक्कापट्टामा भाग लिन नपाउने, दान–दक्षिणा र उपहार लिन नपाउने, कार्यालय समयमा मद्यपान तथा धूम्रपान गर्न नपाइनेजस्ता विषय समेटिएको छ ।

वडा सदस्यको अनुगमन वडाध्यक्षले, वडाध्यक्ष, कार्यपालिका सदस्य र उपमेयरको अनुगमन मेयरले र मेयरको अनुगमन कार्यपालिका बोर्डले गर्ने आचारसंहितामा उल्लेख छ । आजको नयाँपत्रिका दैनिकमा दिपेन्द्र अधिकारीले खबर लेख्नुभएको छ ।

समस्यामा वडाध्यक्ष
आचारसंहिताको मस्यौदाअनुसार अब कुनै पनि जनप्रतिनिधि र उनको परिवारले सम्बन्धित वडामा हुने ठेक्कापट्टाको काममा सहभागिता जनाउन पाउनेछैनन् । भरतपुर महानगरमा केही वडाध्यक्ष जिल्लामा नाम चलेकै ठेकेदार छन् । उनीहरूका लागि आचारसंहिता पेचिलो बनेको छ । साथै वडामा गठन हुने उपभोक्ता समितिमा पनि बस्न नपाइने गरी नियम बनाइएको छ ।

प्रवक्ता भण्डारीका अनुसार सुशासन र मुस्कानसहितको सेवामा संहिता केन्द्रित छ । जनताको सेवक भएका हिसाबले जनताप्रति बढी उत्तरदायी हुनुपर्ने भन्दै आचारसंहिता तयार पारिएको उनले बताए ।

कानुन निर्माणमा तीव्रता 
महानगरले आवश्यक कानुन निर्माणको कामलाई तीव्रता दिएको छ । हालसम्म ७ वटा ऐन पारित भइसकेका छन् । ३ वटा नियम र १७ वटा कार्यविधि निर्माण भई पारित भइसकेको कानुनी अधिकृत खगेश्वर अधिकारीले जानकारी दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ छलफलका क्रममा रहेको महानगरका कानुनी अधिकृत अधिकारीले जानकारी दिए ।

थप जिम्मेवार बनाउन आचारसंहिता : मेयर दाहाल
मेयर रेणु दाहालले जनप्रतिनिधिलाई नैतिवान् र चत्रिवान् बनाउन तथा जनता र समाजप्रति उत्तरदायी बनाउन आचारसंहिता तयार पारेको बताइन् । ‘कोही गलत भएर नियम तयार पारिएको होइन,’ उनले भनिन्, ‘थप जिम्मेवार र सचेत बनाउन मात्र आचारसंहिता ल्याइएको हो ।’

कर्मचारी आचारसंहिता ०७४ कार्यपालिकाबाट पारित भइसकेको छ । महानगरले ०७४ वैशाखदेखि हालसम्म ३० वटा ऐन, नियम, कार्यविधि, आचारसंहिता निर्माण गरिसकेको छ ।