चितवन, ११ कात्तिक ।  जिल्ला प्रशासन कार्यालय चितवनले दीपावली र छठपर्वलाई मध्येनजर गर्दै सार्वजनिक आव्हान गरेको छ । पर्वहरुलाई मर्यादित र अनुशासित बनाउन भन्दै प्रशासनले राति १० बजेपछि देउसीभैलो नखेल्न सार्वजनिक आव्हान गरेको छ ।

दीपावलीको समयमा मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राति ९ बजे नै बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । यस्तै, लोकमार्गका लाइन होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसायहरु राति १० बजेसम्म बन्द गरिसक्न आव्हान गरिएको छ ।

कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण र पैठारी नगर्न प्रशासनले सचेत गराएको छ । प्रशासनले गरेको सार्वजनिक आव्हानमा स्वीकृति विना चिट्ठा, उपहारलगायत कार्यक्रम संचालन नगर्न, मेला/महोत्सव/प्रदर्शनी आयोजना गर्दा पूर्व स्वीकृति लिइ सर्त पूरा गरी सञ्चालन गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्यरुपमा मूल्य सूची राख्नुपर्ने, जुवातास, कौडा, सट्टेवाजीलगायत जुवाजन्य खेल नखेलाउन भनिएको छ ।

यो समयमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिने प्रशासनले बताएको छ ।