काठमाडौं,६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक घरको चुलोचुलोसम्म बिजुलीको तार पुर्याउने योजना रहेको बताएका छन् । यसअघि चुलोचुलोमा ग्यासको पाइप पुर्याउने योजना सुनाएका प्रधानमन्त्री ओलीले अब बिजुलीको तार पुर्याउने योजना सुनाएका हुन्।
आज ललितपुरको पुल्चोकमा साझा यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बस सञ्चालन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले उक्त योजना सुनाएका हुन्।
आफूले यसअघि प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप पुर्याउने बताएको स्मरण गर्दै ओलीले भने,‘अब ग्यासको पाइप हैन बिजुलीको तार हरेकका घरको चुलो चुलोमा पुर्याउने छौँ।’
बिजुलीको तार हरेकका घरघरमा पुर्याउने तयारी सरकारले गरिरहेको बताउँदै ओलीले भने,‘पहिले मैले ग्यास पाइप घरघरमा पुर्याउछु भन्दा अनौठो मानियो, अब बिजुलीको तार घरघरमा पुर्याउँछु भन्दा कसैले भिन्न अनुभव गर्नु पर्दैन।’
साझा यातायातले दुई वटा विद्युतीय बसको सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा आरम्भ गरेका हुन् ।
जैविक इन्धनको प्रयोग घटाउँदै विश्व इलेक्ट्रिक उपकरणतर्फ गइरहेको सन्दर्भमा साझाले नेपालमै पहिलो पटक इलेक्ट्रिक सार्वजनिक बस आरम्भ गरेको हो । चिनियाँ कम्पनी बिवाइडीका ती बसहरू एशियाली विकास बैंकको सहयोगमा पर्यटन मन्त्रालयले साझालार्इ प्रदान गरेको हो ।