चितवन, १८ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले नागरिकले भयरहित वातावरणमा हर्षोल्लासका साथ चाड पर्व मनाउने वातावरण सृजना गर्न दसैँतिहार र छठ पर्वलाई लक्षित गरेर आज वृहत् सुरक्षा योजना सार्वजनिक गरेको छ ।

प्रहरीले अपराधिक मनोवृतिका व्यक्तिले चाडपर्वको अवसरमा विभिन्न किसिमका घटनाहरु घटाउन सक्ने हुँदा त्यस्ता क्रियाकलापहरुको रोकथाम गर्न सुरक्षा योजना ल्याउनु परेको प्रष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको सुरक्षा योजना अनुसार राजमार्गको सुरक्षा सवारी साधनबाट मोबाइल मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट ५६ जना प्रहरी परिचालित हुनेछन् । त्यस्तै जिल्लाभर विभिन्न चोकमा पिकेट डियुटीको लागि २६ वटा प्रहरी कार्यालयबाट ३ र ४ जनाको दरले ९१ जना प्रहरी परिचालित हुने छन् । पटका र विष्फोटक पदार्थ नियन्त्रणको लागी ८ प्रहरी कार्यालयबाट ४८ जना प्रहरी खटिँदै छन् । जुवातास, लंगुरबुर्जा र कौडालाई नियन्त्रण गर्नको लागी पाँच वटा प्रहरी कार्यालयबाट पाँच जनाको दरले ४२ जना परिचालित हुन्छन् । बैँक तथा वित्तिय संस्था र सुनचाँदी पसल लुटपाट हुन नदिन ११ वटा प्रहरी कार्यालयबाट ५५ प्रहरी खटिने छन् ।

प्रहरीले अवैध मदिरा उत्पादन बिक्रीवितरण नियन्त्रण तथा चेकजाँच, आगोलागीका तथा बिपद् घट्ना नियन्त्रणलाई पनि मुख्य प्राथमिकतामा राखेको छ । जिल्ला प्रहरी कार्यालयबाट जम्मा ४५६ जना प्रहरी चितवनका नागरिकको सुरक्षामा खटिने प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजनामा उल्लेख गरिएको छ । राजमार्ग, बजार क्षेत्र, बैँक तथा बित्तीय संस्थाहरु प्रहरीको मुख्य प्राथमिकतामा परेका क्षेत्रहरु हुन् ।