चितवन, २९ साउन । नेत्रविक्रम चन्द विप्लवका प्रवक्ता प्रकाण्ड लगायतका नेता पक्राउ गरेको विरोधमा आज विप्लव समूहले नेपाल बन्द आह्वान गरेको छ । त्यसको प्रभाव चितवनसहित मुलुकका विभिन्न ठाउंमा परेको छ । कतै विहानै आगजनी भएको छ भने कतै बम भेटिएको हल्लाले सर्वसाधारण त्रसित बनेका छन् ।
बन्दकर्ताले नवलपरासीको गैडाकोटमा आगजनी गरेका छन् । उनीहरुले दुईवटा ट्रकमा आगजनी गरेका हुन् । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
राजधानी काठमाडौँमा बन्दको न्युन प्रभाव परेको छ । सवारी साधन आंशिक रुपमा चलेका चन् । विद्यालय तथा कलेजमा विप्लवको बन्द भन्दै विद्यार्थीलाई फिर्ता पठाइएको छ ।
भक्तपुरको सुर्यविनायक र लोकन्थलीमा प्रेसर कुकर बम भेटिएको छ । स्थानियले बम रहेको खबर गरेपछि नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्कृय पारेको छ । सुर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा बम राखिएको थियो ।