काठमाडौं,२६ साउन । नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए पाँच वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ।

पछिल्लो समय विदेशीहरूले विभिन्न वहानामा धर्म परिवर्तन गराइरहेका गुनासाहरू आइरहेका छन्। मुलुकी अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

संहिताको दफा १५८ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै जात जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।’

त्यसअतिरिक्त धर्म परिवर्तन गराउने नेपालीको हकमा ५ वर्ष कैद र पचास हजार रूपैयाँ जरिवाना गरिने उल्लेख छ। त्यसमा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति, सम्प्रदाय, वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याउन नहुने र त्यसरी आघात पुर्‍याउने व्यक्तिलाई एक वर्षसम्म कैद र बीस हजार रूपैयाँ जरिवाना हुने व्यवस्था छ ।