चितवन, ५ माघ । नारयणगढ–मुग्लिन सडकमा माघ १३ गते देखि दिउँसोमा सवारी साधन रोकेर काम गरिने भएको छ । मुलुकको ’लाईफ लाइन’ सडकका रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डको रातीमा गाडी बन्द गरेर काम गर्दा कुनै प्रगति हुन नसकेको भन्दै माघ १३ गते शनिबारदेखि दिउँसोमा बन्द गर्ने भएको हो ।
आज शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि बिहान १० बजेदेख दिउँसो ४ बजेसम्म बाटो बन्द गर्ने निर्णय गरेको हो। अहिले सो सडक रातीमा १० देखि बिहान ४ बजेसम्म बन्द हुने गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यो व्यवस्था एक महिनाका लागि मात्रै गर्न लागेको बताए। ‘त्यसपछि फेरि रातिमा छ घण्टा र दिनमा एक तर्फी बन्द गरेर काम गर्नु पर्ने अवस्था पनि आउन सक्ने छ । राजधानीको लाइफलाईन भएका कारण यात्रुलाई असहज हुने गरेर लामो समय बन्द गर्न मिल्दैन । आयोजनाका अधिकारीहरुले यो कुरा ख्याल राख्नु होला’ भट्टले भने।
नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले द्रुत गतिमा काम गर्नका लागि यो व्यवस्था गर्न लागेको बताए । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ । गएको बैशाखमै काम पुरा हुनु पर्ने भए पनि अहिलेसम्म ७० प्रतिशत पनि काम पुरा भएको छैन।