काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।
विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए । उनका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्यो बेलामा त्यही स्वरूप नरहन सक्छ । त्यस्तो भएमा व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको झमेलामा पर्नुपर्छ ।
उनले आम नेपालीको कपाल जन्मजात रूपमा कि त कालो कि त सेतो हुनसक्ने भन्दै कसैकसैको अपवादका रूपमा हल्का खैरो हुनु स्वाभाविक हुने बताउनुभयो तर मान्छेका स्वरूप नै फरक पर्ने गरी कपाल र अनुहारमा रङ दल्ने र अनेक गरगहना लगाएर अनुहार छोप्न नमिल्ने उनले उल्लेख गरे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।