गोरखा ,२६ फागुन । कुखुरा तौलने क्रममा तौलमा ठगी गर्ने २ जना पक्राउ परेका छन् । डिजिटल तराजुमा कुखुरा जोख्ने क्रममा रीमोट मार्फत तौल घटाउने पर्साका ३७ बर्षका नरेश ओझैया र ४१ बर्षका देबेन्द्र खवासलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

किसानको कुखुरा फर्मबाट कुखुरा उठाउने क्रममा उनीहरुले रिमोट मार्फत सेटिङ गरेर तौलमा ठगी गर्ने गरेको पाईएकाले पक्राउ गरिएको प्रहरी निरिक्षक हिमनाथ घिमिरेले बताउनुभयो ।

गत मंगलबार गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारका राजाराम कुँवरको कुखुरा फर्मबाट ठिंगुरेस्वाँराका शिवराम सिं बस्नेत मार्फत काठमाण्डौका श्याम महर्जनबाट संचालित कुखुरा मासु सप्लायर्सलाई कुखुरा बेच्ने क्रममा उनिहरुले तौलमा ठगी गरेको खुलेको उहाँले बताउनुभयो ।

उनिहरुले यस अघि पनि यसरी तौलमा ठगी गर्दै आएको कुखुरा पालनमा आबद्ध ब्यबसायीहरुले बताउँदै आएका छन् ।

ठपक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।