
कुरिनटार : त्रिशूली नदी किनारमा बालकको शव फेला परेको छ । आज दिउँसो ३ः५० बजेको समयमा गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८बर्खेघाट स्थित त्रिशूली नदीको किनारमा नाम थर र वतन नखुलेको अन्दाजी बर्ष ३/ ४ को जस्तो देखिने बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाकाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार माछा मार्न आउने स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि प्रहरी चौकी घ्याल्चोकबाट घटनास्थल सुरक्षार्थ प्रहरी टोली पुगेका थिए । मृतक बालकले पहेँलोमा कालो धर्का भएको सुरुवाल लगाएको, कालो गन्जीमा सेतो लोगो भएको टिसर्ट लगाएको देखिएको, शवको अनुहार स्पष्टसंग नचिनिने, २र३ दिन अगाडीको जस्तो देखिएको प्रहरी नायव उपरिक्षक दाहालले बताउनुभयो । स्थानियहरुलाई बुझ्दा उक्त शव नजिकको वडा वरपर क्षेत्रको बालकको नभएको र कोही बालक हराएको जानकारी समेत नभएको बुझिएको छ।
बालकको सनाखतको लागि जिल्लाका विभिन्न स्थानहरुमा आफन्तको खोजी कार्य भई रहेको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय धादिङसंग समेत समन्वय भई रहेको र उक्त घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी अधिकृत सहितको अनुसन्धान टोली खटिई गएको उहाँले जानकारी दिनुभयो ।