धादिङ  :  गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गमा पर्ने धादिङको बैरेनीमा गएराति करिब २ बजे बा ३ ख ४०१४ नम्बरको बस र नम्बर नखुलेको भारतीय ट्रक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो। गम्भीर घाइते कुलुङलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।