चितवन : चितवनमा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो । पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बताईएको छ । प्रशासनले कक्षा ११ तथा १२ लगायत निर्धारित अन्य परीक्षा संचालन गर्दा एउटा कोठामा २५ जना भन्दा बढी राख्न नपाईने र एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राखेर परीक्षा संचालन गर्नुपर्ने बताईएको छ ।
भौतिक दुरी कायम गरी परीक्षा व्यवस्था गर्नुपर्ने प्रशासनले आदेश गरेको छ । त्यस्तै चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको छ । संचालनको लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस एवं ट्राफिक प्रहरी कार्यालयको समन्वय हुनुपर्ने प्रशासनले आदेश दिएको छ ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमणको जोखिम यस जिल्लामा अझै सम्म पनि उच्च रहेको तथा यस जिल्लामा कोभिड -१ ९ को नयाँ भेरियन्ट ( डेल्टा भेरियन्ट ) समेत पुष्टि भैसकेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति ०७८।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८।०४।१४ गते राती १२:०० बजे देखि मिति २०७४।०४।२४ गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।
क ) संचालन गर्न नपाइने सेवा तथा कार्य :
१. भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा , सम्मेलन , सेमिनार , जावा , महोत्सव सञ्चालन गर्न पाइने छैन । तर राष्ट्रिय निर्देशन ऐन , २०१८ र संस्था दर्ता ऐन , २०३४ अनुसार दर्ता भएका संस्थाहरुको सम्बन्धमा भर्चुअल रुपमा गर्न संभव नभइ भौतिक रुपमा नै साधारण सभा नगरी नहुने अवस्था भएमा DCMC को स्वीकृति लिई जनस्वास्थका निर्धारित मापदण्ड पालना गर्ने सुनिस्चितताका आधारमा साधारण सभा संचालन गर्न पाइने छ ।
२. सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , फिटनेस सेन्टर , जिमखाना , स्पा , स्वीमिङ्ग पुल , व्युटी पार्लर तथा सैलुन सञ्चालन ।
३. विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन लगायतका शैक्षिक गतिविधि सञ्चालन ।
४. मठ , मन्दिर , मस्जिद , गुम्वा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट
ख ) संचालन गर्न पाइने सेवा तथा कार्य :
१. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल एग्रोभेट तथा भेटेरीनरी औषधि पसल , पुस्तक तथा स्टेशनरी पसल सञ्चालन ।
२ , जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सेवाप्रवाह गर्ने । बढि भिडभाड हुने कार्यालयहरूले हप्ताको बार अनुसार फरक / फरक बार सेवाप्रवाह हुने स्थानीय तह तोकी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई गरीएको सेवाप्रबाह लाई निरन्तरता दिने ।
३. खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , खाना पकाउने ग्याँस सम्बन्धी पसल , एग्रोभेट , बिउबिजन , रासायनिक मलर भेटेनरी औषधि पसल दैनिक रुपमा सञ्चालन गर्न पाइने
४. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल , भाँडा पसल , कपडा पसल , फेन्सी पसल , कस्मेटिक तथा गिफ्ट पसल , सुनचाँदीपसल , पुजा सामाग्री पसल , फर्निचर तथा फर्निसिङ , अटोमोबाइल , मोटरपार्ट्स , जुत्ता चप्पल , टेलरिङ , प्रेस तथा फोटोकपी पसल , वर्कशप , निर्माण सामग्री लगायतका व्यापारीक पसल साँझ ७:०० बजे सम्म सञ्चालन गर्न पाइने ।
५. खाजा घर , रेष्टुरेण्टर मिठाई पसलहरु बेलुकी ७:०० बजे सम्म सञ्चालन गर्ने पाइने ।
६. जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक , वित्तीय संस्था , सहकारी , विमा तथा रेमिट सेवा सञ्चालन गर्नपाइने ।
७. उद्योग / कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सचालन गर्ने । नियमित कामदारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
८. होटेल / लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका र्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंकमण गर्ने ।
ग ) संचालन गर्न पाइने सवारी साधनहरु :
१. अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु , खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु , मालवाहक सवारी साधनहरु , सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।
२. समाचार संकलनासंप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पवपविका वितरणका लागि प्रयोग भएका सवारी सधान ।
३. अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।
४. राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।
५. जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा जोर गते जोर नम्वर र विजोर गते विजोर नम्बरका सवारी साधनमा देहायका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने
- सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
- सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
- मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
- चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने ।
- सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने ।
- सवारी साधन दैनिक निसंक्रमण ( Disinfection ) गर्ने
६. यस जिल्लावाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा माथि ५ नं धुंदामा उल्लेखित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी अत्यावश्यक प्रयोजनमा सम्बन्धित यातयात व्यवसायी संघ / समितिको सिफारिस एवंम् जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सीमित संख्यामा संचालन गर्ने ।
७. निकट भविष्यमा सञ्चालन हुने ११ तथा १२ कक्षा लगायत निर्धारित अन्य परीक्षा सञ्चालन सम्बन्धमा देहाय बमोजिमको प्रबन्ध मिलाई परीक्षा सञ्चालन गर्ने :
- परीक्षा सञ्चालनमा संलग्न शिक्षक , कर्मचारी तथा परीक्षार्थी सबैले मास्कको प्रयोग लगायत नेपाल सरकारले तोकेका कोभिड -१ ९सँग सम्बन्धित जनस्वास्थ्यका निर्धारित मापदण्ड पूर्णरूपमा पालना गर्ने / गराउने सुनिश्चितता गरी परीक्षा सञ्चालन गर्ने ।
- परीक्षा संचालन गर्दा एउटा कोठामा २५ जना भन्दा बढी नराख्ने ।
- एउटा बेन्चमा एक जना परिक्षार्थी मात्र रहने गरी ” Z ” आकारमा सिट प्लान गर्ने ।
- परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भए पश्चात पनि जनस्वास्थ्यका मापदण्ड बमोजिम भौतिक दुरी कायम हुने व्यवस्था मिलाउने ।
- स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी परीक्षा हल , शौचालय , खानेपानी स्थलमा अनिवार्य दैनिक निसंक्रमण ( Disinfection ) गर्ने ।
- कोभिड -१ ९संक्रमित परीक्षार्थीको हकमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई अन्य सामान्य परीक्षार्थीहरू परीक्षा हलमा प्रवेश गरेपछी मात्र प्रवेश गराई अन्य सामान्य परीक्षार्थीहरु परीक्षा हलबाट निस्के पछि मात्र हलबाट निस्कने व्यवस्था मिलाउने ।
घ ) संक्रमण दर घट / बढ भएमा यस आदेशमा भएका व्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ ।
ङ ) साथै उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनवासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।
च ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।