कुरिनटार : आजभोलीे बिशेष दिनहरु जस्तै जन्मदिन, बिवाह एनिभर्सरी आदिमा भोजभतेर गरेर खर्च गर्नुको सट्टा सामाजिक कार्यमा खर्च गर्ने चलन बढ्दै आएको छ । देश विदेशमा रहेका नेपालीहरुले यस्ता विशेष दिनहरुमा देशमा रहेका विपन्न विद्यार्थी सामाजिक संघसस्थाहरुलाई सहयोग गर्दै आएका छन ।
यसैबिच चितवनको इच्छाकामना ४ कुरिनटार धारापानीका राम बहादुर गुरुङ र स्वर्गिय धनकुमारी गुरुङका नाति तथा हाल युकेमा रहनु भएका मीन कुमार गुरुङ र अमृला गुरुङका सुपुत्र साइमिन गुरुङको जन्मउत्सवको अवसरमा चेपाङ विद्यार्थीलाई शैक्षिक सामाग्री र एक क्लबलाई खेलकुद सामाग्री सहयोग गरेका छन् ।
बुधबार चितवनको इच्छाकामना ३ ओरेकमा रहेको श्री गणेश राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १९ जना चेपाङ बालबालिकाका लागि कापी पेन्सील ज्यामिती बक्स लगायतका रु १७ हजार ८०० रुपैयाँ बराबरको शैक्षिक सामाग्री र के ब्वाइज क्लब कुरिनटारलाई रु ५ हजार ८०० रुपैयाँको ३ वटा फुटबल र १ वटा भलिबल सहयोग गरिएको हो ।
राम बहादुर गुरुङले विद्यालयका प्रधानाध्यापक अर्जुन सापकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोक बहादुर प्रजालाई शैक्षिक सामाग्री र के ब्वाइज कुरिनटारका सचिव यादव थापा र कोषाध्यक्ष विनोद त्रिपाठीलाई बल हस्तान्तरण गर्नुभएको हो ।
उहाँले जन्मदिनमा ठूला पार्टी गरेर खर्च गर्नुभन्दा सामाजिक काममा सहयोग गर्नुपर्ने बताउनुभयो । श्री गणेश आधारभूत राष्ट्रिय विद्यालमा अध्ययनरत चेपाङ बालबालिकाहरु कापी कलम बिनै बिद्यालय आउने गरेको जानकारी पाएपछि नातीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग गरिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक अर्जुन सापकोटाले यहाँ चेपाङ बालबालिकाहरु अध्ययनरत रहेको बताउनुभयो । उहाँका अनुसार कापी कलम बिनै बिद्यालय आउने गर्छन् । विद्यालय र आफ्नो व्यक्तिगत तर्फबाट कापी कलम उपलब्ध गराउदैँ आएको बताउनुभयो ।प्राप्त शैक्षिक सामाग्रीहरुको सहि सुदुपयोग गर्ने उहाँले बताउनुभयो । साथै विद्यार्थीहरुलाई विद्यालय पोसाक आवश्यक रहेको पनि उहाँले बताउनुभयो। आर्थिक स्थिति कमजोर रहेका चेपाङ बालबालिकाहरुले विद्यालय पोसाक किन्न समेत नसक्ने बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारणी अध्यक्ष विकास चेपाङ लगायतको उपस्थिति रहेका थिए ।
चितवनको इच्छाकामना ४ कुरिनटार धारापानीका हाल यूके निवासी मीन कुमार गुरुङ सामािजक कार्यमा सक्रिय हुनुहन्छ । यस अघि पनि उहाँले मेलम्चीका बाढीपीडित र भूकम्पपीडितहरुलाई राहात वितरणका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।