गोरखा  :  सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिरोले घर पुरिदा  दुई जनाको मृत्यु भएकाे छ । उनीहरुकाे  शव निकालिएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ९:३० बजे ८० बर्षका रमन पाण्डे र उहाँकी श्रीमती ७० बर्षकी नन्दकुमारी पाण्डेको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।

पहिरोले पाण्डेको भुकम्पपछि पुर्ननिमाण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्ण रुपमा पुरिएको हाे। घटना लगत्तै स्थानीयले उद्धारको प्रयास गरेको भएपनि करिब ४ घण्टापछि दुवैको शव पहिरोबाट निकालिएको डिएसपी दाहालले बताए ।

इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा शव निकालेको हो । मृतक दम्पतीको शव पोष्टमार्टमको तयारी भइरहेको  छ । उक्त घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।